Pages

1.25.2013

निर्वाचित सदस्यहरुको चौकिको अस्तित्व खतरामा ?


डी के वाइबा, कालिमन्युज, कालेबुङ 24 जनवरी । गोजमुमो पार्टीले शुरु गर्ने भनिएको दोस्रो चरणको गोर्खाल्याण्डको आन्दोलनले निर्वाचित सदस्यहरुको अस्तित्व संकटमा पर्ने संकेत कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले जनसभाबाटै दिएका छन। तिनले आज यहाँको मेला ग्राउण्डमा आयोजित मोर्चाको जनसभालाई सम्बोधन गर्दै उक्त संकेत दिए।

“हामी आन्दोलनकारी हौ अनि गोर्खाल्याण्डको आन्दोलन हामीले जारी राखेका छौ। सरकारले तेलेंगना गठन गरे मोर्चा चुप लागेर बस्दैन। बिपक्षी पार्टीका साथीहरुले सामुहिक राजिनामा दिएर आन्दोलन गर्ने सुझाव दिन्छन। जुनसुकै समय राजीनामा दिएर हुँदैन। ठिक समयमा ठिक ठाउँमा राजीनामा दिए त्यसको प्रभाव राम्रो पर्छ। यदि अहिलेको अवस्थामा अध्यक्ष बिमल गुरुङले राजीनामा दिन लगाए हामी सामुहिक राजिनामा दिएर आन्दोलन गर्न तयार छौ” – डा हर्कबहादुर छेत्रीले भने।

यसै अवधी तिनले अब अगामी दिनहरुमा आफ्नो भेटघाट सडकमा, जुलुसमा अनि गोर्खाल्याण्डको निम्ति डाकिएको जनसभाहरुमा भेट हुने पनि बिधायक छेत्रीले बताए। जनसभालाई सम्बोधन गर्ने क्रममा डा छेत्रीले तेलेंगनाको मुद्दालाई गोजमुमो पार्टीको आन्दोलनले उर्जा प्रदान गरेको दाबी गर्दै गोजमुमो पार्टीले भोकहडताल गरेर सरकारलाई दबाव दिएकै देखेर तेलेंगना माग्ने चन्द्र शेखर रावले पनी भोक हडताल गरेको दाबी गरे।

दोस्रो चरणको आन्दोलन हिंसक हुने ?

डी के वाइबा, कालिमन्युज, कालेबुङ 24 जनवरी । गोर्खाल्याण्ड गठनको निम्ति गोजमुमो पार्टीले गर्ने भनिएको दोस्रो चरणको आन्दोलन हिंसक हुने प्राय निश्चित बनेको छ। मोर्चा अध्यक्ष बिमल गुरुङले गोर्खाल्याण्ड गठन गर्दा हजारौ शहिदको बलिदान दिन परे पनि तयार रहेको घोषणा गरे पछि आज कालेबुङको जनसभामा पनि सबै नेताहरुले दोस्रो चरणको आन्दोलन शान्तिप्रिय नहुने संकेत दिए।

यस सिलसिलामा गोजनामो कोर कमिटि अध्यक्ष आशा गुरुङले बिगत दिनहरुमा गान्धीवादी आन्दोलन भएको कारण आफुहरुको हातमा कलम रहेको बताउँदै अबको आन्दोलनमा कलमको सट्टा झाँसीको रानी बन्दै खुकुरी बोक्न पछि नपर्ने बताईन।

यता जनसभालाई सम्बोधन गर्दै गोजमुमो सांगठनिक सचिव बिजय सुन्दास, सभासद सामुएल गुरुङ, जीटीए डिपुटी चिफ रमेश आले, सावन राई आदिले पनि आगामी आन्दोलन कठोर हुने बताए। जीटीए गठन पछि कालेबुङमा गोर्खाल्याण्ड गठनको माग गर्दै पहिलोपल्ट डाकिएको उक्त जनसभामा गोजमुमो कालेबुङ महकुमा क्षेत्रका बिभिन्न समष्टिका सभासदवर्ग, नगरपालिका पार्षदगण लगायत सबै भातृसंगठनका नेताहरुको सहभागीता रहेको थियो।

0 comments: